दक्षिण कोरिया : आगलागी भएको विमानमा रहेका सबै यात्रुको सकुशल उद्धार

एजेन्सी : दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि आगलागी भएको जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।
दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
विमानका १६९ यात्रु, छ जना चालक दलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ।
अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घण्टापछि स्थानीय समयअनुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो।
आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन। यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ।
मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिनापछि आएको हो।
जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए। यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो।
बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो। उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए।
सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन्। यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन्।
माघ १६, २०८१ बुधबार १५:५४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।