भिजिबिलिटी कम हुँदा घन्टौं कुर्नुपर्ने बाध्यतामा हवाई यात्रु

काठमाडौं : एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ। त्यसमा पनि हुस्सुले झन बाटो नदेखिँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो।
बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिंदैन। सडक, बजार सुनसान बनेको छ।
हुस्सुले सबैभन्दा बढि समस्या विमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ। जनकपुरधाम विमानस्थलमा भिजिबिलिटी कम हुनाले न त बिमान अवतरण नै गर्न सकेको छ न त उड्न नै। दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ। कति बजे उडान हुन्छ भन्ने निश्चित छैन।
विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौ कुर्न बाध्य भएका छन्। चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमाण्डौं जान विमानस्थलमा पर्खिरहेका हरि प्रसाद बक्तेल बताए।
विमान उड्न १ हजार मिटर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ। तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिए।
दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसबखत उडान हुने गरेको उनले बताए। अहिले दैनिक ४० प्रतिशत उडान कम भएको छ।
अबको दुई/तीन दिनपछि मौसम सुधार हुनसक्ने सूचना अधिकारी यादवले जनाए।
हुनु त कम भिजिबिलिटीमा पनि बिमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ। यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढि लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ।
हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमा रहेको देखिन्छ।
माघ १६, २०८१ बुधबार १५:२९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।