सांसद योगेश भट्टराईको दाबी : पाथीभरामा केबलकारको संचालनले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर पारेको छैन

काठमाडौं : ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्न नदिइने दाबी गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा राख्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएको भन्दै आपत्ति जनाए।
‘निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिंदैन,' उनले भने, 'पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ। पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन। रुख तथा पोल गरेर २ हजार १ सय १२ कटान हुनेछ।’
उनले ताप्लेजुङवासीहरुको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको दाबी समेत गरे। सांसद भट्टराईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए।
उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्छ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्छ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।’
पाथीभरा केबलकार निर्माणको कार्यलाई अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्त्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र सम्वर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माणलाई अघि बढाउन उनले माग गरे।
माघ १६, २०८१ बुधबार १४:३६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।