देउवाको निर्देशन : अध्यादेशको पक्षमा सदनभित्र र बाहिर एकढिक्का हुनू

देउवाको निर्देशन : अध्यादेशको पक्षमा सदनभित्र र बाहिर एकढिक्का हुनू

काठमाडौं : नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले मन्त्री र दुई दलले बनाएको संयन्त्रबारे छलफल गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए। 

उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो। दुई दलले बनाएको संयन्त्रको काम, अध्यादेशको औचित्य तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ।’

यसैगरी लामो समयदेखि संसदमा विचाराधीन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ।

उनले थप छलफलको लागि भोलि र पर्सि संसदीय दलको बैठक बोलाइएको पनि बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे बैठकमा सदनभित्र र बाहिर पनि सरकारले ल्याएको अध्यादेशको पक्षमा एकढिक्का हुन सभापति शेरबहादुर देउवाले पार्टी पंक्तिलाई निर्देशनसमेत दिए। 

‘सरकारले तत्काल गर्नुपर्ने सुधारको आवश्यकता महसुस गरेर केही अध्यादेश ल्याएको छ। अबको संसद् अधिवेशनमा ती अध्यादेशमाथिका छलफलमा एकढिक्का भएर प्रस्तुत हुन तथा बाहिर पनि एकढिक्का भएरै प्रस्तुत हुन पार्टी सभापतिले निर्देशन दिनुभयो,’ प्रमुख सचेतक घिमिरेले भने।

कांग्रेसले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा पनि छलफल भएको उनले जानकारी दिए। 

उनले कांग्रेसका मन्त्रीहरूको काम कारबाहीका विषयमा पनि समीक्षा भएको बताए।  

माघ १२, २०८१ शनिबार १८:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।