गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित ब्यबहार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
महागढीमाई नगरपालिका वडा नम्बर-१ स्थित गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित ब्यबहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधा सागर पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार सिसिटिभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरू गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सिसि क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा घटनामा संलग्न भएका व्यक्तिहरूलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।
माघ १२, २०८१ शनिबार १७:५६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।