रारामा पाहुना चराको संख्या बढ्यो

रारामा पाहुना चराको संख्या बढ्यो

मुगु : मुगुको रारा तालमा पाहुना चराहरूको संख्या गत बर्ष भन्दा यस बर्ष बढेको छ।

समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर, साइबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरू यस बर्ष बढेका छन्। 

चराविदहरुका अनुसार रारामा पाइने चराहरू साइबेरिया लगायत विभिन्न देशहरूबाट मंसिर महिनाबाट आउन शुरू गर्छन्। यस बर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरू रारामा देखिने गरेका छन्। 

ती चराहरू वैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर, साइबेरिया जाने गरेका छन्।

यस बर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा, मानिसहरूको आगमन कमहुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ। 

रारा राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार विगतका बर्षमा रारा तालमा रमाउने पाँच  प्रजातिका तीन सय ४२ हाँसहरू रहेको देखिन्छ भने यसवर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसय भन्दा बढी भेटिएको पाइन्छ।
 
विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरू भेटिने गरेका छन्। 

रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरू रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। 

माघ १२, २०८१ शनिबार १६:५३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।