अमेरिकाको ४७औं राष्ट्रपति बने ट्रम्प : मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा, तेल बेच्न ‘ड्रिल बेबी ड्रिल’को नारा

एजेन्सी : डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बनेका छन्। उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएका हुन्।
बराक ओबामा, जर्ज बुस, बिल क्लिन्टन जस्ता धेरै राष्ट्रिय नेता, व्यापारी, पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी थिए।
आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले आफ्नो नीति र प्रशासन अन्तर्गत अमेरिकाको ‘भविष्य कस्तो हुनेछ’ भन्नेबारे दृष्टिकोण सार्वजनिक गरे।
उनले भने, ‘अमेरिकाको स्वर्णयुग आजबाट सुरू हुँदैछ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ। म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु।’
राष्ट्रपति बनेको पहिलो दिन ट्रम्पले करिब १०० कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमा अध्यागमन, ऊर्जा, अर्थतन्त्र, लिङ्ग सम्बन्धी मुद्दाहरू समावेश हुनेछन्।
यस्ता छन् डोनाल्ड ट्रम्पको उद्घाटन भाषणका महत्त्वपूर्ण कुराहरू:
अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय संकटकाल
डोनाल्ड ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन्। यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले बताए।
ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीहरूलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए।
‘रिमेन इन मेक्सिको’ नीतिलाई पुन: लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि ट्रम्पले आफ्नो भाषणमा बताए।
यसका साथै उनले छिट्टै गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ हुने बताए।
यसका अलावा उनले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन्।
पानामा नहरमा चीनलाई दोष
डोनाल्ड ट्रम्पले पानामा नहरलाई ‘मूर्ख उपहार’ को रूपमा व्यख्या गर्दै चीनले पनामा नहर सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
ट्रम्पले भने, ‘हामीले यो चीनलाई दिएका हैनौँ, हामी यसलाई फिर्ता लिनेछौँ।’
सम्बोधनका क्रममा उनले यसो भनेपछि उनका समर्थकहरुले ताली बजाए भने बाइडेन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नदिई मौन रहे।
गत महिना डोनाल्ड ट्रम्पले पनामालाई पनामा नहरको शुल्क घटाउन वा यसको नियन्त्रण अमेरिकालाई फिर्ता गर्न भनेका थिए।
ट्रम्पले पनामा नहर चीनको लागि नभएको स्पष्ट पार्दै यो नहर गलत हातमा गएको बताए। तर, पनामाका राष्ट्रपतिले एक वक्तव्य निकालेर चीनको यस नहरमा प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण नभएको बताएका थिए।
‘अमेरिकी अन्तरिक्ष यात्री मंगल ग्रहमा जानेछन्’
आफ्नो सम्बोधनमा डोनाल्ड ट्रम्पले अमेरिकालाई नयाँ उचाइमा लैजाने र ठूलो सफलताको कुरा गरे।
ट्रम्पले अमेरिकाले आफ्नो सम्पत्ति बढाउने, आफ्नो क्षेत्र विस्तार गर्ने र मंगल ग्रहमा झण्डा फहराउने बताएका छन्।
‘हामी ताराहरू खोज्नेछौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौँ’, उनले भने।
मध्यपूर्वबारे के भने ?
डोनाल्ड ट्रम्पले आफू शान्ति ल्याउने र मध्यपूर्वमा सबैलाई एकताबद्ध गर्ने नेता बन्ने बताएका छन्।
उनले गाजामा हमासले बन्धक बनाएका तीन इजरायली बन्धकहरूको उल्लेख गरे। ती सबै बन्धकहरु आइतबार परिवारकहाँ फर्किएका छन्।
ट्रम्पले भने, ‘अमेरिकाले विश्वको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली र सम्मानित देशको रूपमा आफ्नो सही स्थान प्राप्त गर्नेछ। हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरित गर्नेछ र प्रशंसाको केन्द्र बन्नेछ।’
यहाँ दुई लिङ्ग मात्र हुनेछ-महिला र पुरुष
डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा आफ्नो सरकारले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जात र लिङ्ग समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने बताएका छन्।
ट्रम्पले आजदेखि अमेरिकी सरकारको आधिकारिक नीति पुरुष र महिला दुई लिंग मात्र हुने घोषणा पनि गरेका छन्। आफ्नो भाषणमा, उनले बाइडेन प्रशासन र आप्रवासी संकटको व्यवस्थापनको कडा आलोचना गरे।
बीबीसीका कूटनीतिक मामिला संवाददाता पल एडम्सले यो भाषणलाई विश्वका लागि ट्रम्पको बलियो सन्देशको रूपमा वर्णन गरेका छन्।
ट्रम्पको भाषणले विश्वव्यापी मञ्चमा अमेरिकाको शक्ति र सम्भावनालाई उजागर गर्ने बलियो सन्देश दिएको उनको विश्वास छ। अमेरिकाले सामना गरिरहेको चुनौतिको बारेमा पनि कुराकानी भयो।
‘ड्रिल बेबी ड्रिल’को नारा
ट्रम्पले ट्यारिफको बारेमा पनि आफ्नो विचार व्यक्त गरेका छन्। अन्य देशमा कर र भन्सार लगाएर अमेरिकी जनतालाई धनी बनाउने बताए।
यससँगै राष्ट्रपति ट्रम्पले मुद्रास्फीति र बढ्दो ऊर्जा आवश्यकताको बारेमा पनि कुरा गरे जुन उनको अघिल्लो चुनावी अभियानको महत्वपूर्ण मुद्दा थियो।
उनले आफ्नो मन्त्रिपरिषद्का सबै सदस्यलाई मुद्रास्फीतिलाई परास्त गर्न र लागत र मूल्यलाई छिटो घटाउन हरसम्भव प्रयास गर्न निर्देशन दिने बताए।
ट्रम्पले ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गर्ने बताउँदै आफ्नो कार्यकालमा अमेरिकामा तेल र ग्यास अन्वेषणलाई तीव्रता दिने आफ्नो वाचा दोहोर्याए।
उनले भने, ‘अमेरिका फेरि उत्पादक राष्ट्र बन्नेछ। हामीसँग संसारमा सबैभन्दा बढी तेल र प्राकृतिक ग्यास छ, र हामी यसलाई पूर्ण रूपमा प्रयोग गर्नेछौँ।’
उनले यसलाई ‘ड्रिल बेबी ड्रिल’को नारा दिएका छन्।
माघ ८, २०८१ मंगलबार ०७:३८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।