यु-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

यु-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं : मलेसियामा जारी आइसिसी यु-१९ महिला टि-२० विश्व कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

सोमबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।

स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन्। ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन्।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो।

कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन्। सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।

नेपालको यो लगातार दोस्रो हार हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। 

नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ। उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्याण्डको नतिजामा भर पर्नु पर्नेछ।

माघ ७, २०८१ सोमबार १५:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।