सौन्दर्यकर्मी कविताको प्रसव पीडा र खुसी : प्रसवको बेलामा त मर्छु नै जस्तो लागेको थियो, साह्रै पीडा हुने

कविता बिशुंखेको सानैमा विवाह भयो। प्रेम विवाह गरेकी उनी सानै उमेरमा घर परिवार सम्हाल्ने जिम्मेवारीमा पुग्दा अलि ओझेलमा परिन्। लकडाउनको बेलामा उनले सौन्दर्यकर्मतिर लागिन्। भर्खरै सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस् हिमालयन’ उपाधि पनि जितिन् ।
काठमाडौँको थलीमा हुर्किएका उनको बाबु नेपाल प्रहरीमा जागिरे। तीन दिदीबहिनी र एक भाइसँग उनले पनि मस्त पढिन्। छिट्टै बिहे गरे पनि पढाइलाई निरन्तरता दिइन्।
बिचमा व्यापार गर्न पनि तम्सिएकी थिइन् उनी। तर त्यता धेरै रमाउन सकिनन्। अहिले उनी दुई सन्तानकी आमा समेत हुन्। उनै कविताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
०००
१८ वर्षकै उमेरमा मेरो विवाह भयो। ‘लभ म्यारिज’, त्यही पनि अन्तर्जातीय। परिवारहरू बुझ्ने भएर विवाहमा धेरै समस्या झेल्नु भने परेन। तर विवाहपछि चाहेर या नचाहेर फरक अनुभव हुने नै रहेछ। मैले पनि बिहे लगत्तै आफूमा धेरै फरक पाएँ। नयाँ ठाउँ, नयाँ मान्छे, कसैलाई चित्त दुखाउनु हुन्न भन्ने लाग्थ्यो। एक किसिमको डर हुने रहेछ।
पढाई जारी नै थियो। विवाह पछि स्नातक पढ्न सुरु गरेँ। छोरी भएर पढ्नु र बुहारी भएपछि पढ्नुमा फरक नै हुने रहेछ। झन् आमा बनेपछि त धेरै कुरा ‘कम्प्रमाइज’ गर्नु पर्ने रहेछ। त्यही भएर चाहना भए पनि मैले आफ्नो पढाइलाई स्नातक भन्दा माथि लान सकिन।
आफै पनि सानै थिएँ। बच्चा रोए भने आफै पनि सँगै रुन्थे। तर बिहेको अर्को वर्ष नै हाम्रो पहिलो सन्तान भयो। गर्भवती भएको खबर घरमा भन्नै पर्यो। घरमा सबैजना खुसी हुनुभयो। आमा बन्ने भएँ भनेर म पनि निकै उत्साहित थिएँ।
तर गर्भावस्थाको नौ महिना निकै कष्टकर थियो। एकदम गाह्रो भयो। खाना रुच्दै नरुच्ने, बान्ता मात्र हुन्थ्यो। एक त सानै उमेर, त्यसमा पनि तौल कम। त्यसमा खाना खानै नसक्ने। म त मर्छु नै जस्तो लागेको थियो।
गर्भवती भएको नौ महिनासम्म पनि मेरो तौल जम्मा ४० केजी मात्र थियो होला। गर्भ रहेको तीन महिनापछि निकै रगत जान्थ्यो। त्यो बेलामा डाक्टरले मलाई धेरै नहिँड्न सल्लाह दिनु भयो।
म त पुरै सुतेर नै बस्थेँ। मलाई पनि निकै कमजोरी महसुस हुन्थ्यो। गन्ध आउने कुनै पनि चिज मैले खाइन।
धेरै गाह्रो हुँदा अहो छोरी मान्छे भएपछि यस्तो गाह्रो पो हुने रहेछ है भन्ने अनुभव पनि भएको थियो। अझ नानी जन्मियो भन्ने थाहा पाएपछि त मनमा ‘उसले पनि कुनै दिन मैले जस्तै दुख पाउने भई, उसले पनि यो पीडा सहन पर्ने भयो’ भन्ने लागेको थियो। यति धेरै पीडा भएपछि मनमा आउने रैछ।
नानी नर्मल नै जन्मिइन्। अप्रेसन गर्नु परेन। तर त्यो पल एकदम पीडादायी थियो। नानीको तौल निकै कम थियो। मैले त भिटामिन डी र ग्यास्ट्रिकको औषधी खानु परेको थियो।
प्रसव व्यथा लाग्दा पनि मलाई निकै बान्ता भयो। अस्पतालमा जाँदा त्यहाँका डाक्टर र नर्सहरूले हौसला दिनु भएको थियो। तर प्रसव पीडाले त हायलकायल बनायो।
पहिलो पटक आफ्नो बच्चालाई देख्दा अनौठो लाग्ने रहेछ। नानी एकदम क्युट थिई। अहिले पनि निकै राम्री छिन् उनी। अस्पतालमा पनि सबैले तपाईकी छोरी एकदम राम्री छे भन्थे।
तर जन्मिने बित्तिकै उनलाई जन्डिस देखियो। म आफै पनि कमजोर थिएँ। उसलाई स्तनपान गराउने सकिन।
पहिलो पटक आमा बन्दा त केही थाहा नै नहुने रहेछ। श्रीमान् अनि म दुवै अल्लारे उमेरकै थियौँ। बच्चालाई कसरी स्याहार्ने भन्ने नै थाहा भएन। अब आमा भइसकेपछि मलाई त स्याहार्नै आएन भनेर भन्न पनि नमिल्ने। धेरै समस्या हुने रहेछ।
हामी आमा छोरी नै स्वस्थ भएपछि स्तनपान गराउने कोसिस गरेँ। पनि उनले धेरै खानै सकिन। आमाको दूध भन्दा बढी ल्याक्टोजन खाइन्। एक महिना त हामी अस्पताल नै बस्नु परेको कारण ‘सुत्केरी’ भनेर धेरै समय बिताउन पाइन।
त्यसबेला बाहिर काम नगर्ने भएकाले उनलाई प्रशस्त समय दिन पाएँ। सन्तान भएपछिको फरक अनुभव भनेको अन्त ध्यानै नजाने रहेछ। कोही कराए पनि मतलब छैन। आफ्नो समेत वास्ता नहुने रहेछ।
नानी भएपछि एउटै मात्र सन्तान होस् भन्ने थियो। तर साढे तीन वर्षपछि हाम्रो अर्को सन्तान पनि भयो। पहिलोमा भन्दा दोस्रो गर्भावस्थामा धेरै सजिलो भयो। एक हिसाबले के के हुने रहेछ अनि के गर्नुपर्ने रहेछ भन्ने अनुभव भयो।
पहिलो गर्भावस्थामा भन्दा दोस्रोमा थप सतर्क भएकी थिएँ म। पहिलाको जस्तो धेरै कमजोरी नहोस् भनेर खाना पनि मजाले खाएँ। ठ्याक्कै भन्नुपर्दा आफूलाई पनि पुर्व तयारी गरेकी थिएँ। त्यै भएर पनि होला मलाई त्यस्तो धेरै कमजोरी भएन दोस्रो गर्भमा। दोस्रो पटक गर्भवती हुँदा त म ६० केजीको भएकी थिएँ।
दोस्रो नानीलाई पनि मैले नर्मल नै जन्म दिएँ। तर उसको टाउको ठुलो भएकाले असाध्यै पीडा भएको थियो। उसको बेलामा झन् श्रीमान् पनि साथमा हुनुहुन्थेन। मलाई त अब म हुँदिन कि ! भन्ने डर नै लागेको थियो। त्यस्तो पीडा हुने रहेछ नि। तर हामी दुवै जना स्वस्थ भयौँ।
उसलाई त स्तनपान पनि राम्रोसँग गराउन पाएँ। मेरो पढाइ रोकिइसकेको थियो। मलाई त जे पनि उनीहरूकै लागि गरौँ, उनीहरूकै लागि सोचौँ भन्ने लागेको थियो। बरु अहिले चैँ आफ्नो लागि पनि समय छुट्टाउन पर्छ भन्ने लाग्छ।
आफ्नो लागि समय दिनु पनि परिवारकै लागि समय दिनु हो भनेर बल्ल बुझ्दै छु। आफ्नै स्वास्थ्यमा पनि ध्यान दिइरहेको हुन्छु। अहिले ठुली १० वर्षकी भइन्। सानी सात वर्षको। दुवै जना पढ्दै छन्।
दुइटा कसरी हुर्काउने होला भन्ने लागेको थियो। तर दुवै सँगसँगै हुर्किँदै गए। दुवै एक अर्कालाई साथी भए।
नत्र पहिला ठुली एक्लै खेल्थिन्। साथीहरू खोजेर खेल भन्नुपर्थ्यो। तर बहिनी आएपछि उ बढी खुसी भएको हामीले अनुभव गर्यौँ। बच्चालाई बच्चा नै साथी चाहिन्छ भनेको त्यै होला। तर दुवैको स्वभाव एकदम भिन्न छ। एउटा शान्त स्वभावको छ, अर्को निकै छुच्चो।
पहिला केही नजान्दा नै आमा बनियो। उनीहरूले नै हो मलाई धेरै कुरा सिकाएको। अहिले बल्ल परिपक्व हुँदै छु भन्ने लागिरहेको छ। पहिलाको म र अहिलेको म मा पनि निकै फरकपन पाएँ।
जे जति गर्न सके, गरेँ। त्यस अनुसार आफ्नो मातृत्व अनुभव रमाइलो लागिरहेको छ। पहिला सिक्ने, केही गर्ने भन्दा सुविधा नै थिएन। अहिले इन्टरनेट, प्रविधिले गर्दा निकै सहज भएको छ। अब छोरीहरूसँग आफै पनि सशक्त हुन मन छ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
माघ ६, २०८१ आइतबार २०:१३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।