प्रधानमन्त्री कप क्रिकेटमा कोशीले बागमतीलाई हरायो , मनीषाले लिइन् चार विकेट

बैतडी : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले हराएको छ।
खराब मौसमका कारण १३ ओभरमा छोट्टाइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो। बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन्।
कोशीका लागि कप्तान रूविना क्षेत्री, ज्योति दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए। फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो।
विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन्। बागमतीका लागि मनीषा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन्। मनीषा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् । कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।
समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन्। माघ १ देखि सुरु प्रतियोगितामा नौ टोलीको सहभागिता छ। प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई २५/२५ हजार पुरस्कार रकम घोषणा गरिएको छ।
माघ ६, २०८१ आइतबार १६:३०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।