दुर्घटनालाई कम गर्न मोटरसाइकल चालकलाई प्रहरीले 'शुभयात्रा' भन्न थाले

दुर्घटनालाई कम गर्न मोटरसाइकल चालकलाई प्रहरीले 'शुभयात्रा' भन्न थाले

चितवन : सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान  सुरू गरेको छ।

भरतपुर महानगरपालिका-१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रुपमा अभियानको शुभारम्भ गरे।

जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित गर्ने उद्देश्यले अभियान सुरू गरिएको हो।

अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई ‘शुभ-यात्रा मात्रै नभनी नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरूको विवरण समेत राख्छौं, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभ यात्रा जस्ता शब्दहरु भन्नेछ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दुरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन्। जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८.६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ।

चालु आर्थिक वर्षमा भएका ४०६ वटा दुर्घटनामा ६०७ वटा सवारी साधन दुर्घटनामा परेकोमा ३५६ वटा दुईपाङ्ग्रे सवारीसाधन छन्। ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने ७१८ जना घाइते भएका छन्।

माघ ५, २०८१ शनिबार १६:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।