यु१९ महिला टी२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
 
                    
                    
                    
                    काठमाडौं : आईसीसी यु१९ महिला टी२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले हराएको हो।
नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
अमेरिकाका लागि इसानी भागेलाले २४ रन बनाउँदा पूजा साहले १० रन जोडिन्।
नेपालकी रिया शर्माले ३ तथा पुजा महतोले १ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन जोडिन्।
अमेरिकाका लागि सुहाना थाडानी, रितु सिंह, इसानी भागेला, सानभी इमादी, माही माधवन र पूजा साहले १-१ विकेट लिए।
नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।
विश्वकपका आधिकारिक खेलहरू भने आगामी शनिबारदेखि सुरु हुनेछ। यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ।
१६ टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन्।
विश्वकपअघि मलेसियामै भएको एसिया कपमा नेपालको यही महिला टोलीले पाकिस्तानलाई पराजित गरेको थियो।
विश्वकपमा सहभागी देशका कप्तानहरूले मंगलबार मलेसियाको चर्चित पेट्रोनास ट्वीन टावरको अगाडि फोटोसुट गरेका थिए।
माघ २, २०८१ बुधबार ११:३६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    