क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी, एक जना पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरिएको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
माघ २, २०८१ बुधबार ०७:४८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।