यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौं : स्वास्थ्यमन्त्री पौडेल
 
                    
                    
                    
                    काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरू मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन्।
राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल, स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताए।
उनले भने, ‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना। यसमा बहस गर्ने बेला आएको छ। मानसिक रोगको समस्याबाट धेरै मानिसहरू समस्याग्रस्त भएको स्थिति छ। यस्तो कोलाहल, भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको छ।’
मन्त्रीले पौडेलले कोही पनि इच्छाले रोगी नभएको बताए । उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए।
उनले भने, ‘निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ। पुर्नस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ। उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ। कोही बिरामी भयौं भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ। तर, बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन। यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौं।’
उनले अगाडि भने, ‘स्वस्थ नेपाली, स्वस्थ नेपाल निर्माण गर्नको लागि मान्छेले रहरले रोग बोकेको हुँदैन, नजानेर बोकेको हुन्छ। कसैलाई पनि क्यान्सर बोक्ने इच्छा हुँदैन। कसैलाई पनि किड्नीमा समस्या भएर बाँच्ने इच्छा हुँदैन तर क्यान्सर हुन नदिन के गर्ने यसमा काम गर्नुपर्छ।’
माघ १, २०८१ मंगलबार १७:१५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    