भारतमा अनलाइन जुवा खेलेको मोबाइल रेकर्ड नेपालमा फेला पर्दा मुद्दा

काठमाडौँ : अफगानिस्तान र जिम्बाबेबीचको क्रिकेट म्याचमा पाँच हजार बाजी राखेको रेकर्ड मोबाइलमा फेला पर्दा भारतीय नागरिक ऋषि माकन र हरिस जावामाथि सट्टेबाजी गराएको आरोपमा मुद्दा दायर भयो।
बेलाबखत नेपाल आएर बुढानीलकण्ठको ग्रान्डी भिलेज हाउजिङमा बस्दै आएका यी दुई भारतीय नागरिकमध्ये ऋषिको मोलाइमा डिसेम्बर १२ मा भएको अफगानिस्तान र जिम्बाबेको खेलमा अनलाइनबाट पाँच हजार बाजी राखेको रेकर्ड फेला परेको थियो।
प्रहरी वृत्त महाराजगन्जले त्यसैलाई प्रमाण मानेर दुबैलाई पुस ६ मा पक्राउ गरेको थियो। सोमबार दर्ता भएको अभियोग पत्र अनुसार उनीहरू अनलाइन जुवा खेल्ने वा खेलाउनेबारे प्रहरीले थप केही प्रमाण फेला पारेको देखिँदैन।
मोबाइलमा स्काइस्केच नामक एप्लिकेशन डाउनलोड भएको र त्यसबाट पाँच हजार बाजी लगाएको मात्र आधारमा उनीहरूलाई पक्राउ गरेको देखिन्छ।ऋषिको बयान अनुसार उनी भारतमा बुटिक सम्बन्धी काम गर्दै आएका छन्। उनी बेलाबखत नेपालमा क्यासिनोमा जुवा खेल्न आउने र केही समय नेपालमै बस्ने गर्दै आएका थिए।
उनी र हरिसले ग्रान्डी भिलेज हाउजिङमा फ्ल्याट भाडामा लिएर भारतबाट नेपालमा क्यासिनोमा जुवा खेल्न आउने भारतीय नागरिकहरूलाई राख्ने र क्यासिनो पूर्याउने गर्ने गरेको बयानमा खुलाएका छन्।
उनले भारतमै रहेको बेलामा जिम्बाबे र अफगानिस्तानको खेलमा पाँच हजार बाजी राखेको समेत खुलाएका छन्। उनको ओप्पो मोबाइलमा अनलाइन जुवा खेलाउने एप डाउनलोड रहेको र त्यसबाट पाँच हजार बाजी राखेको खुलेको देखिन्छ।
अभियोग पत्रमा कुनै बिगो रकम समेत दाबी लिन सकिएको देखिँदैन। जुन सामान जुवा खेल्न वा खेलाउन प्रयोग भएको हो सो जफत हुने कानुनी प्रावधान छ।तर मुद्दामा उनीहरूको साथमा रहेका मोबाइलहरू, ट्याब, ल्यापटपसँगै अनि फ्ल्याटमा फेला परेका बैङ्कका चेकहरू समेत जफत गर्न मागदाबी लिइएको छ।
प्रहरीले मोवाइलमा अनलाइन बेटिङ गराउने कम्पनीको एप भेटेको आधारमा पक्राउ गरेर जुवा मुद्दामा लगाइरहेको छ। उता क्रिकेट एसोसिएसन अफ नेपालले भने आफ्नो प्रतियोगितामार्फत अनलाइन जुवा खेलाउने कम्पनीको प्रचारमा सरोगेट ब्राण्डको प्रयोग गरिरहेका छन्।
नेपाल प्रिमियर लिगमा क्यानले वुल्फत्रिपलसेभेनको सरोगेट ब्राण्ड वुल्फत्रिपलसेभेनन्युजको प्रचार गरेको थियो भने अहिले चलिरहेको जय ट्रफीमा डाफाबेटको सरोगेट ब्राण्ड डाफान्युजको प्रचार गरिरहेको छ। जुवा कानुनले जुवाको प्रचार प्रसार समेत रोकेको छ। जुवाको प्रचार गर्न नाममा न्युज जोडेर भइरहेको प्रचारमा भने प्रहरी निस्क्रिय देखिन्छ।
पुष २९, २०८१ सोमबार १९:४८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।