निर्माणाधीन संघीय संसदको भवन चाँडो सक्न राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्। सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन्।
त्यस क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थित रहेको थियो।
राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए। पौडेलले भवनसम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।
पुष २९, २०८१ सोमबार १९:४३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।