पृथ्वीनारायण शाहको तस्बिर कोर्ने कर्माचार्य भन्छन् 'पहिलेको फोटोले एकीकरणको म्यासेज दिएन, अनि त्यो औंला थपिदिएँ’

पृथ्वीनारायण शाहको तस्बिर कोर्ने कर्माचार्य भन्छन् 'पहिलेको फोटोले एकीकरणको म्यासेज दिएन, अनि त्यो औंला थपिदिएँ’

काठमाडौं : आज पुस २७ अर्थात् पृथ्वीजयन्ती। नेपालको एकीकरणकर्ता भनेर चिनिने पृथ्वीनारायण शाहको तस्विर वास्तवमा कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ। तर, सामान्यतः उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ- श्रीपेच पहिरिएको र ‘चोर औंला’ उठाएको। 

उनका सालिक हुन् वा तस्विरमा औंला ठड्याइरहेको चित्र कसरी बन्यो? ठडिएको औंलाको अर्थ के हो? चित्र केबल चित्रमात्र होइन, इतिहास पनि हो। कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्विरले इतिहास झल्काउँछ।
 
हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यले सिंहदरबार अगाडिको शालिक बनाउनु भन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दाबी गरेका छन्। शालिकमा देखिएको स्केच अमर चित्रकारले उतारेका थिए। तर त्यो भन्दा अगाडि कर्मचार्यले दरबारको आग्रहमा पृथ्वीनारायण शाहको तस्विर उतारेका बताए। 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अमर चित्रकारले बनाएको सिंहदरबार अगाडिको शालिक सबैभन्दा राम्रो मुर्ति भएको बताए। 

उनले भने, ‘सिंहदरबारको शालिक बनाउँदाखेरी अमर चित्रकारले निकै मेहनत गरेका छन्। त्यसमा लोकल पहिरन छ। तर पछि चित्र उतार्दा श्रीपेच एवं जामा लगाएको, खानदानी लुगा पहिरिएको र औंला ठड्याउने चाहिं मैले बनाएको हो।’

पृथ्वीनारायण शाह जुझारू, निर्भीक र कसैसँग नडराउने व्यक्ति भएको भन्दै उनको इतिहास, स्वभावलाई अध्ययन गरेर चित्र कोरिएको कर्माचार्यले सुनाए। पृथ्वीनारायण शाह नयाँ भिजन भएको र तागत पनि देखाउने मान्छे भएकाले आफूले सोही अनुसार परिकल्पना गरेर शाहको चित्र उतारेको उनको भनाई छ। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका कर्माचार्य भन्छन्, ‘पृथ्वीनारायणलाई लडाकु, अलि बहादुर देखिने खालको देखाउनुपर्यो भन्ने थियो। पहिलेको चित्रमा त यो कुरा देखिएन। बहादुर देखिनको लागि नयाँ चित्र बनाउन लगाइएको हो। सुरूमा उहाँको चित्र फूल समाएर सिंहासनमा बसेको सामान्य थियो।’ 

तर, २०२४ सालतिर पृथ्वीनारायणको टिकट निकाल्ने तत्कालीन सरकारले निर्णय गरेको सम्झिँदै उनले थपे, ‘राजा महेन्द्रको पनि टिकट निकाल्ने इच्छा थियो। म हुलाक टिकटको डिजाइन गर्थें त्यसबेला। त्यही भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औंला राखें।’

उनले पहिलेको बजारको चित्र त्यति राम्रो भएन पृथ्वीनारायणको एकीकरणकर्ताको छवि अनुसारको चित्र परिकल्पना गर्नुपर्यो भन्ने कुरा भएपछि आफूले मौलारामले कोरेको चित्रलाई समेत हेरेर र मगाएर औंला उठाएको चित्र कोरेको सुनाए।

‘अमर चित्रकार दरबारको सबै चित्र कोर्नुहुन्थ्यो त्यसबखत। उहाँलाई बालकृष्ण समले दरबारभित्र पुर्याउनु भएको थियो। उहाँ दरबार पुग्नुअघि दरबारको मात्र छुट्टै आर्टिस्ट भन्ने कोही थिएन। उहाँ पुगेपछि नै शाह राजाहरूका पोट्रेट भटाभट बन्न थालेको हो,’ उनले भने, ‘अहिले चल्तीमा रहेको चित्र युरोपियन शैलीमा छ। राजाको त चिउँडोको तलतिर पोटिलो मासु भएको देखाउनुपर्यो, फुर्तिलो देखाउनुपर्यो भन्ने भएपछि चित्रमा त्यस्तै देखाइएको हो।’

पृथ्वीनारायणको चित्रमा हातहतियारसहित श्रृंगारिएको छ। आभूषण छ। बहादुरीपन छ। औंला राख्नुको अर्थ भनेको राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनको लागि भएको उनले बताए। 

साथै उनले आफू भन्दा पहिला कोरिएको चित्रले एकीकरणको म्यासेज नदिएको बताए। 

उनि भन्छन्, ‘उनको पहिचान कसरी गर्ने? औंलाको चित्रले पृथ्वीनारायणलाई पहिचान दियो। यो चित्र हेर्ने मानिसका लागि चित्रको सन्देश हो-एकीकरण। पहिलेको फोटोले एकीकरणको म्यासेज दिँदैन थियो। फूलको ठाउँमा औंला थपेर एकीकरणको सन्देश दिइयो। पृथ्वीनारायणको योगदान के त भन्दा एकीकरण। अनि मैले त्यो औंला थपिदिएँ।’

गढवाली चित्रकारिताको जन्मदाता मानिने मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा गढवाली शैली झल्किने गरेको पनि उनले बताए। त्यतिबेलाका चित्रकारितामा कांगडा शैली र गढवाली शैलीमा रहेकाले सोही अनुसार चित्र कोरिने गरेको कर्मचार्यले बताए। 

पुष २७, २०८१ शनिबार १६:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।