तत्काल छुट्ने छैनन् रवि, कास्कीमा ६५ लाख धरौटी बुझाएलगत्तै काठमाडौं पठाइने

तत्काल छुट्ने छैनन् रवि, कास्कीमा ६५ लाख धरौटी बुझाएलगत्तै काठमाडौं पठाइने

काठमाडौं : जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ।

धरौटीमा छाड्न आदेश भएका रविसहितले जिल्ला अदालत कास्कीमै धरौटी बुझाउनुपर्ने हुन्छ। धरौटी बुझाए पनि उनीहरू छुट्ने छैनन्। 

रविविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौंमा पनि मुद्दा दायर भएकाले कास्कीमा धरौटी बुझाएलगत्तै उनलाई काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। 

‘भर्खर अदालतको आदेश आएको छ। धराैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं’ एसपी ओलियाले भने।

काठमाडौंमा मात्रै हैन, रविविरुद्व रूपन्देही, चितवन र पर्सा प्रहरीले पनि सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन्। 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई आज साँझ ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई आज साँझ ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। त्यसैगरी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। 

यदि धरौटी तिर्न नसकेको अवस्थामा भने रविसहित उनीहरू सातै जना कारागार चलान हुनेछन्।

 

पुष २५, २०८१ बिहीबार १९:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।