पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अपचलनको अभियोगमा जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

गत पुष ७ मा रविमाथि व्यक्तिगत नभई गोर्खा मिडिया प्रालिको प्रबन्ध सञ्चालकको हैसियतमा सहकारीबाट संगठित रुपमा अपचलन गरी प्रालिमा आएको रकम अपचलनमा संलग्न रहेको आरोप लगाइएको हो। यही आरोपमा छविलाल जोशीविरुद्ध पनि अभियोग पत्र दायर भएको छ।

उनीविरुद्ध ७४ करोड ३४ लाख बिगो मागदाबी गरिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लागेको छ। नेपाल प्रहरीका पूर्व डिआइजी रहेका उनी गोर्खा मिडिया प्रालिका सञ्चालक थिए।

अभियोग पत्रमा छविलाल परिवारका सदस्य पद्मा बञ्जाडे जोशी र रोचक जोशी सम्पत्ति शुद्धीकरणमा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनेका छन्। सम्पत्ति जफत प्रयोजनका लागि राधा र गीता पछाई पनि प्रतिवादी कायम भएका छन्। 

पुष २५, २०८१ बिहीबार १८:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।