पुर्पक्ष आदेश अगाडि इजलासमा रविको अनुरोध ‘थुनामा नपठाइयोस्, बाहिर रहे बचत फिर्ताको पहल गर्छु’

पुर्पक्ष आदेश अगाडि इजलासमा रविको अनुरोध ‘थुनामा नपठाइयोस्, बाहिर रहे बचत फिर्ताको पहल गर्छु’

कास्की : सूर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको रकम ठगी गरेको मुद्दाको थुनछेक बहसको अन्तिम दिन प्रतिवादीको तर्फबाट आफ्नो भनाई राख्दै रवि लामिछानेले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताको पहल गर्ने सर्तमा पुर्पक्षमा बाहिरै राख्न आग्रह गरे।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको थुनछेक बहसको अन्तिम दिन न्यायाधीश राईले रविसहितका प्रतिवादीहरूलाई आफ्नो धारणा राख्न समय दिए।

 समय पाएपछि लामिछानेले गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग नगरेको र अब दुरुपयोग गर्ने अवस्था नरहेको भन्दै पुर्पक्षका लागि थुनामा नपठाई बाहिर बसेर पुर्पक्ष गर्ने मौका पाउँ भन्दै अनुरोध गरेका थिए।

उनले थुनछेकको आदेशबाट धरौटीमा बाहिरै बस्न पाएमा अदालतमा हाजिर हुन आउँदा बचतकर्ताको रकम फिर्ता गराउन गरेको पहलको रिपोर्ट लिएर आउने दाबी गरेका थिए।

उनले नेपालमा भएका दलमध्ये आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी जिम्मेवार पार्टी रहेको र सहकारी समस्या र समाधानबारे पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले समेत अङ्गको रूपमा स्वीकार गरेको भन्दै आफूलाई पुर्पक्षका लागि थुनामा नपठाई बाहिरै बसेर मुद्दा प्रक्रियामा सहभागी हुने मौका दिन अनुरोध गरेका थिए। 

सुर्यदर्शन सहकारीको बचत रकम ठगीको आरोपमा पक्राउ परेका रविसहितका अभियुक्तहरूबारे पुस १६ बाट जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएकोमा बिहीबार सबै पक्षको बहस सकियो। बहस सकिएकाले आजै आदेश आउने सम्भावना देखिन्छ।

कास्कीबाट रवि धरौटी वा हाजिर जमानीमा मुक्त भए पनि हिरासतबाट मुक्त भने हुनसक्ने छैनन्। कास्कीमा बुझाइएको अभियोग पत्रमा अन्य चार जिल्लामा समेत अनुसन्धान जारी रहेको भन्दै थुनामुक्त हुन अवस्थामा प्रहरीलाई बुझाउन भनिएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा त मुद्दा नै दर्ता भइसकेको छ।

पुष २५, २०८१ बिहीबार १५:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।