भूकम्पले हल्लाएको चीनको अवस्था पाँच तस्बिरमा

भूकम्पले हल्लाएको चीनको अवस्था पाँच तस्बिरमा

एजेन्सी : चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण हजारौँ भवन क्षतिग्रस्त भएका छन्।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेर घरहरू ध्वस्त भएको देखाइएको छ। फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेषबिच उद्धारमा खटिएका छन्।

मङ्गलबार बिहान नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा भूकम्प गएको थियो।

भूकम्पको केन्द्र रहेको स्थानका अधिकांश घरहरू माटोबाट बनेकाले धेरै भौतिक क्षति भयो।  सिसिटिभीका अनुसार कम्तीमा १ सय २६ जनाको मृत्यु पुष्टि भएको छ। अन्य १ सय ८८ जना घाइते भएका छन्। गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीन हजार ६ सय ९ घर भत्किएका छन्।

अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ।

पुष २३, २०८१ मंगलबार २३:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।