एमालेको केन्द्रीय कमिटी बैठकमा उठ्यो पूर्वमाओवादी र दश बुँदे गुटको प्रश्न, ओलीले स्वीकारेनन्

काठमाडौं : प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै जना वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन्।
एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरे।
'एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन्। भरभराउँदो आजको एमाले खोजौं। हामी क्रान्तिकारी हौं। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरूद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ, ओलीले भने।
स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढङ्गको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले बताए।
अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न निर्देशन दिए।
उनले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताए। देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने उनको दाबी छ।
यही पुस २१ देखि सुरू भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ।
पुष २३, २०८१ मंगलबार २०:१६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।