सिआइबीले पाँच घण्टा लगाएर गरेको सोधपुछमा धनराजले भने 'अनुसन्धानमा सहयोग गर्छु'

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।
सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि पाँच घन्टासम्म सोधपुछ गरिएको सिआइबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए।
‘आज दोस्रो पटक उहाँलाई बोलाएर घटना विवरण कागज गराएका छौं। अनुसन्धानमा सहयोग गर्छु भन्नुभएको छ’ बोगटीले भने।
यसअघि कार्तिक २८ मा सिआइबीले उनलाई मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो।
सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ। त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरू गरेको थियो।
यस प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएपनि धनराज पत्नी ज्योति भने फरार छिन्।
पुष २३, २०८१ मंगलबार १९:४९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।