बार अध्यक्षविरूद्ध अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो।
आदेशमा भनिएको छ, 'उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कन/अभिलेख आयोजना बार एकाइबाट झिकाउनू।'
अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो। अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गरेका थिए।
त्यही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले अध्यक्ष घिमिरेले सात दिनभित्र आफैं वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन आदेश गरेको थियो। अध्यक्ष घिमिरेले बारका तर्फबाट लिखित जवाफ पेस गरिसकेका छन्।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना गरेको उल्लेख गरिएको थियो।
पुष २३, २०८१ मंगलबार १८:५६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।