भूकम्पका कारण चीनमा ३२ जनाको मृत्यु, अझै केही भग्नावशेषमा पुरिएको आशंका

एजेन्सी : तिब्बतमा विहान आएको ७.१ म्याग्निच्युडको भूकम्पका कारण चीनमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
नेपालको सिमाना जोडिएको पश्चिमी चीनको पहाडी क्षेत्र सिगात्सेको डिङ्ग्री काउन्टीमा भूकम्प गएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
भूकम्पको केन्द्रविन्दु नजिकका धेरै घर भत्किएका छन् भने केही मानिस अझै भग्नावशेषमा फसेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दुको करिब १२ माइल भित्रका दुई दर्जनभन्दा बढी गाउँहरूमा करिब ६ हजार नौ सय मानिस बसोबास गर्ने गरेको चिनियाँ राज्य प्रसारक सीसीटीभीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
चिनियाँ अधिकारीहरूले यस क्षेत्रमा करिब एक हजार ५ सय दमकल र उद्धारकर्मीहरू पठाएका छन्।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो। यसबाट नेपालमा अहिलेसम्म कुनै क्षतिको विवरण आइसकेको छैन।
पुष २३, २०८१ मंगलबार ११:०३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।