नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता कार्यक्रममा विप्लवले सोधे 'कांग्रेस-एमालेले देशलाई के दिए?'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एकता घोषणा भएको हो।
उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्र वर्ग, शक्ति र समुदायलाई एकताबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्।
त्यस क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशको तीन ठूला दलले नेपालको नेतृत्व गर्दै गर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्न बाहेक केही नदेखिएको बताएका छन्।
उनले भने, ‘नेपाली कांग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरैपटक प्रधानमन्त्री पनि भइसकेको छ। तर कांग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन। एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ। माओवादी केन्द्रले पनि एकताको कुराहरू गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ।’
यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने भन्दै एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘हामी स्पष्ट छौं र लड्न पनि तयार छौं। तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाई लड्नुपर्छ र यसमा हामी दृढ छौं। यो अभियान देशैभर हुनेछ यसमा मैले गति दिने छु।’
पुष २०, २०८१ शनिबार २१:०७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।