शेखरलाई गगनको जवाफ 'कसले भन्यो कांग्रेसको अधिवेशन नहुने खतरा छ भनेर, हामी छैनौं?'

शेखरलाई गगनको जवाफ 'कसले भन्यो कांग्रेसको अधिवेशन नहुने खतरा छ भनेर, हामी छैनौं?'
फाइल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन्। 

शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने अनि पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए।

उनले भने, ‘बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ। कहाँबाट कसले डुबाउँछ पार्टी, त्यसै डुब्छ पार्टी, हामी छैनौं? जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ, उही नेताको निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु।’

त्यसअघि कांग्रेस नेता शेखर कोइराला पार्टीको महाधिवेशन समयमै नहुने खतरा रहेको भन्दै देशव्यापी दौडाहमा छन्। उनले पटकपटक कांग्रेस नेतृत्वले समयमै पार्टीको महाधिवेशन नगर्ने खतरा रहेको बताइरहेका छन्।

१४औं महाधिवेशनमा एउटै टिमबाट शेखर सभापतिको उम्मेदवार थिए भने गगन महामन्त्रीमा विजयी भए। अहिले १५औं महाधिवेशनका लागि यी दुवै नेताहरू सभापति उठ्न चाहिरहेका छन्। त्यसकारण उनीहरू दुवैबीचको सम्बन्धमा तिक्तता देखिन थालेको छ। 

सभापतिको तयारीका लागि शेखर एक्लै देश दौडाहमा छन् भने गगन सभापति शेरबहादुर देउवालाई खुसी पारेर संस्थापन पक्षको उम्मेदवार बन्ने पक्षमा छन्। त्यतिमात्र हैन, पछिल्लो समय उनीहरूले एकअर्काको आलोचनामा अभिव्यक्तिहरू पनि दिन थालेका छन्।   

त्यसबाहेक कार्यक्रममा महामन्त्री थापाले चैत्रभित्र अब क्रियाशील सदस्यको नवीकरण नहुने बताए। 

उनले भने, ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ। त्यसको शूल्क २ सय हो। चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन।’

उनले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबै जना अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए। 

उनले भने, ‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ। एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन्। तपाईं हामी सबैलाई गाली गरेका छन्। आन्दोलन र त्यसको डिफेन्स गरेका छन्। हामी सबै जना अल्मलिएका छौं। अब अल्मलिनु हुँदैन।’

पुष २०, २०८१ शनिबार १८:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।