शेरा दरबार जग्गा हिनामिनामा माओवादी नेता दोषी देखिए पनि कारबाही गरियोस् : प्रचण्ड

शेरा दरबार जग्गा हिनामिनामा माओवादी नेता दोषी देखिए पनि कारबाही गरियोस् : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पारे। 

'कानुन विपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुस्। जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु, उनले भने। 
 
राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ। 

कुनै विषयमा छानबिन गर्दै जाँदा आफू नै संलग्न भएको भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेको प्रसङ्ग स्मरण गर्दै उनले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न आग्रह गरे। 
 
'मैले प्रधानमन्त्रीका रुपमा रहँदा जो कोही पनि कानुन मिचेर वा कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन सकिँदैन भनेको थिएँ। मैले आफ्ना पार्टीका नेता दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ भनेको थिएँ, शेरा दरबारमा गैरकाुननी काम भएको भए सरकारले कारबाही गर्नुपर्छ, उनले भने।  

पुष १८, २०८१ बिहीबार १४:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।