एकै दिन ३२ जना फरार प्रतिवादी पक्राउ

एकै दिन ३२ जना फरार प्रतिवादी पक्राउ

गौर : रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ हुनेहरूमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना, अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेइज्जतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना रहेका छन्।

पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ। पक्राउ परेका ३२ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए।

उनीहरूबाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

पुष १८, २०८१ बिहीबार ०७:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।