जब सरकारका प्रवक्ता गुरूङले पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रूपमै आलोचना गरे

पोखरा : सरकारका प्रवक्ता एबम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सार्वजनिक रुपमा आलोचना गरेका छन्।
पोखरामा शनिबारदेखि शुरू भएको २६ औं सडक महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्ता गुरुङले पर्यटनमन्त्री पाण्डेको आलोचना गरेका हुन्।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै मन्त्री गुरूङले २/३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएकोमा आलोचना गरे।
२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरूङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए।
मन्त्री गुरूङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तराष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिंदै त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छ वटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औंल्याए।
‘पोखरामा डेटा सेन्टर बनाउन सकिन्छ। धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि संघको मुख ताकेर हुँदैन।’
पुष १४, २०८१ आइतबार ०८:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।