०८४ को लागि अहिलेदेखि भोट माग्न थाले प्रचण्ड, 'माओवादीलाई ठूलो पार्टी बनाए भ्रष्टाचारीलाई लखेट्ने' नयाँ अस्त्र

०८४ को लागि अहिलेदेखि भोट माग्न थाले प्रचण्ड, 'माओवादीलाई ठूलो पार्टी बनाए भ्रष्टाचारीलाई लखेट्ने' नयाँ अस्त्र

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरू हुने बताएका छन्।

कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी ०८४ सालको निर्वाचनमा भोट माग्ने शैलीमा माओवादीलाई ठूलो पार्टी बनाए सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने दाबी गरे। 

अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरीबन्धु, यति ओम्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरूरी छ। हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ। भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरू गरिनै सक्यौं।’

त्यसो त यसअघि सरकारबाट बाहिरिएपछि पटक-पटक आफूले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि सरकार ढालिएको दाबी गर्दै आइरहेका छन्। त्यतिमात्र हैन, अहिले जनतामाझ जान उनले यही अस्त्र अपनाइरहेको देखिन्छ। 

पूनर्वासमा पनि प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटरब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि भयभीत र आतंकित भएर सरकार ढाल्न लागि परेको दोहोर्याए। 

पूनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका प्रचण्डले भने, ‘पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ।’

भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेक कालापानीको समस्यामा आफूले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको प्रचण्डले सुनाए। 

आगामी निर्वाचनका लागि अहिलेदेखि भोट माग्न थालेका प्रचण्डले सुदूरपश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्ये पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर देशीय प्रसारण लाइनको काम अगाडि बढाएको दाबी गरे। 

राज्य सत्ताबाट विभेद र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापुर्वक लागेको उनको दाबी छ। 

पुष १३, २०८१ शनिबार २०:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।