दीक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह 'विद्वान हुँ भन्ने घमन्ड नगर्नुहोला'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे।
‘आफैंसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए।
उनले हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज भएकाले जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए। समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए।
सह-कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन्।
विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरु एकापसमा गाभ्ने नीति लिइएको जनाए।
पुष १३, २०८१ शनिबार १६:३२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।