४४ वर्षको उमेरमा छोराछोरीसँगै एउटै विद्यालयमा पढेका परियारको पिएचडी गर्ने धोको !

४४ वर्षको उमेरमा छोराछोरीसँगै एउटै विद्यालयमा पढेका परियारको पिएचडी गर्ने धोको !

तनहुँ : व्यास नगरपालिका-१४ केशवटारका ४४ वर्षीय विश्वबुढा परियारले पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरेका छन्।

विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका परियारले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना भएका छन्। गत साउनमा कक्षा १२ मा २.९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका परियार मंसिरमा व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भएका छन्।

शिक्षा सङ्कायतर्फ अध्ययनरत उनले अरू विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताए। ‘राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ,’ उनले भने।

पढाइलाई उच्च प्राथमिकता दिँदै परियार दुई वर्ष अगाडि दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका थिए।

व्यास-४ स्थित केशवटार माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाडेका परियारले सोही विद्यालयमा पुनः भर्ना भई एसइई उत्तीर्ण गरेका थिए।

परियारका छोराछोरी बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छन्। ठूलो छोरा शिवशङ्कर बूढा परियार हाल कक्षा ८ मा अध्ययनरत छन्। छोरी पूर्णिमा परियार कक्षा ६ अध्ययनरत छिन्।

छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लागेको सम्झिँदै उनले भने, ‘त्यतिबेला हामी सबै एउटै विद्यालयमा पढ्थ्यौ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्थ्यो।’

नेपाल कराँते संघ डोजो इकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तवार्ता दिन गएका थिए।

त्यतिबेला एसएलसी उत्तीर्ण नगरेको भनेपनि उनी छनोट भएका थिएनन्। त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हिनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो।

केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियारले बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित संघ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते सङ्घ डोजो इकाईको प्रमुख प्रशिक्षक रहेका परियारले पिएचडी गर्ने लक्ष्य रहेको बताए। 

पुष १३, २०८१ शनिबार १६:२२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।