भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

एजेन्सी : सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो। उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।
‘दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा जनवरी १ सम्म सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ’, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ।
‘स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।
अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो।
राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन्।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मिएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरे। राष्ट्रको सर्वोच्च पद लिनुअघि उनी कहिल्यै पनि निर्वाचित पदमा बसेका थिएनन्।
केम्ब्रिज विश्विविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका सिंहले केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाले।
सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिएका थिए।
आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे। यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो।
उनले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए, जसले भारतलाई बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न अहिलेसम्म पनि मद्दत गरिरहेको छ।
पुष १२, २०८१ शुक्रबार ११:४७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।