एमालेमा तीन नेतालाई कारबाही गरिएको निर्णयको विरोध गर्ने नेता एकजना मात्रै

एमालेमा तीन नेतालाई कारबाही गरिएको निर्णयको विरोध गर्ने नेता एकजना मात्रै

काठमाडौं : पार्टी कार्यालय बनाउन विवादित व्यापारीबाट जग्गा दान लिएर भवन शिलान्यास गरिएको प्रकरणमा फरक मत राखेका तीन नेतालाई एमालेले कारबाही गर्यो। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गर्यो। त्यही बैठकले पूर्वउपाध्यक्षसमेत भइसकेका नेता डा भीम रावललाई भने पार्टीबाटै निष्कासन गर्यो। 

त्यसबारेमा सार्वजनिक सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्को आलोचना भयो। नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली तानाशाही बन्दै गएको आरोप लगाए। उता, कारबाहीमा परेकी नेतृ तिमल्सिनाले एमालेको नेतृत्वमा पञ्चायतकै शैली रहेको बताइन् भने नेतृ पाण्डेले पार्टीले अंगालेको जनताको बहुदलीय जनवादविपरीत गैर पार्टीभित्र एकैजना व्यक्ति सर्वेसर्वा हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। 

उनले पार्टीभित्र आफूहरूलाई कारबाही भएकोमा थुप्रै नेताहरूमा आक्रोश रहेको तर, कारबाहीको डण्डा चल्ने डरले बोल्न नसकेको भनेकी छन्। प्रदेश कमिटीदेखि केन्द्रकै नेताहरूले पनि फोन गरेर कारबाही हुन् नहुने भन्ने तर्क गरेको सुनाएकी उनले आफैंले भने पार्टीमा आन्तरिक लोकतन्त्र मासिन थालेको भनेकी छन्। तर, उनीहरू तीन जनासहित नेतृ बिमला राई पौड्यालबाहेक अहिलेसम्म एमालेमा यो कदमको कसैले पनि प्रश्न गरेका छैनन्। 

त्यसअघि राष्ट्रिय सभाकी सांसद एवं पूर्वपराराष्ट्रमन्त्री पौड्यालले मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्न नहुने बताएकी छिन्। 

'...गलत भयो। नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो, बिन्दा पाण्डे। बच्चैदेखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नुहुँदैन, उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्। 

तर, पौड्यालले पूर्वउपाध्यक्ष रावलमाथिको कारबाहीबारे भने केही भनेकी छैनन्।  

पुष ११, २०८१ बिहीबार २२:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।