'राप्रपाका सदस्यले अन्य पार्टीको सामग्रीलाई लाइक, शेयर, रिट्विट गर्न हुँदैन'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन एक कार्यविधि ल्याएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरूपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-०८१’ लाई अनुमोदन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ।
कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, 'सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।'
कार्यविधिमा कुनै सदस्यले अर्को कुनै सदस्य वा व्यक्तिलाई होच्याउने, बदनाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानि हुने गरी सार्वजनिक रूपमा आलोचना गर्न वा फोटो, भिडिओ सेयर गर्न नपाउने उल्लेख छ।
पार्टीका सदस्यहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्रीले पार्टीको हितलाई असर पुग्ने देखिएमा तत्काल हटाउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ।
यो कार्यविधि पुस ६ को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेकोले अब साधारण सदस्यदेखि केन्द्रीय पदाधिकारीसम्मले यो कार्यविधिअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भएको छ।
पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने प्रवक्ता श्रेष्ठले बताए।
पुष ९, २०८१ मंगलबार १५:४२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।