‘बुवा र भाइको हत्या मैले गरेको हुँ’ भन्दै प्रहरीसमक्ष पुगे जेठा छोरा मिलन

‘बुवा र भाइको हत्या मैले गरेको हुँ’ भन्दै प्रहरीसमक्ष पुगे जेठा छोरा मिलन

काठमाडौं : भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र छोरा प्रविण आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको खुलेको छ।

‘बुवा र भाइको हत्या मैले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद र कान्छो छोरा २२ वर्षका प्रविण मृत भेटिएको थियो।

दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन थिए।

घटना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घटनास्थलमा अनुसन्धान सुरू गरेको थियो।

छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ मा बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए।

दुई भाइ छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कुलप्रसाद र प्रविणको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छ।

पुष ९, २०८१ मंगलबार १३:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।