एआईबाट डिपफेक भिडिओ बनाएर चरित्र हत्या गर्ने ‘दिपु कान्छो’विरूद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौं : गायिका समीक्षा अधिकारीले डिपफेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
एआईको दुरूपयोग गरी आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन्।
समीक्षाले सामाजिक सञ्जालमार्फत २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरूद्ध उजुरी दिएको उल्लेख गरेकी छन्।
‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले लेखेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु।’
उनले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्नसमेत अनुरोध गरेकी छन्।
शुक्रबार समीक्षाले बुटवलमा प्रस्तुति दिने क्रममा लिइएको एक भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल गराइएको छ। जुन एआईको प्रयोग गरेर बनाइएको फेक भिडिओ भएको भन्दै समीक्षाले आपत्ति जनाएकी छन्।
पुष ७, २०८१ आइतबार ०९:२८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।