टी-२० क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध बंगलादेशको पहिलो क्लिन स्वीप

टी-२० क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध बंगलादेशको पहिलो क्लिन स्वीप

एजेन्सी : तेस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ८० रनले पराजित गरेसँगै बंगलादेशले तीन खेलको सिरिज पहिलो पटक क्लिन स्वीप गरेको छ।

शुक्रबार किङ्स्टनमा भएको खेलमा बंगलादेशका कप्तान लिटन दासले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो।

जवाफमा क्यारेबियन टोली १६.४ ओभरमा १०९ रनमा सिमित भयो। अविजित ७२ रन बनाएका जाकेर अली प्लेयर अफ द म्याच चुनिए। उनले आफ्नो इनिङ्समा ३ चौका र ६ छक्का प्रहार गरे।

परवेज हुसेन इमोनले २१ बलमा ३९ रन बनाए। मेहदी हसन मिराजले २३ बलमा २९ रनको योगदान दिए।

वेस्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक २ विकेट लिए। यसबाहेक अल्जारी जोसेफ, रोस्टन चेस र गुडाकेश मोटेले १-१ विकेट लिए।

१८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको सुरुवात निकै खराब रह्यो। टोलीको विकेट लगातार खसिरहेको थियो।

ओपनर ब्रान्डन किङ शून्य रनमा आउट भए। जोन्सन चार्ल्सले १८ बलमा २३ रनको योगदान दिए।

वेस्ट इन्डिजका लागि रोमारिया शेफर्डले २७ बलमा सर्वाधिक ३३ रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा १ चौका र ३ छक्का प्रहार गरे।

यसबाहेक विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले १० बलमा १५ रन बनाए।

बंगलादेशका लागि रिशाद होसेनले ३ विकेट लिए। यसबाहेक तस्किन अहमद र मेहन्दी हसन मिराजले २-२ तथा तान्जिम हसन साकिब र हसन महमुदले १-१ विकेट लिए।

पुष ६, २०८१ शनिबार ०८:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।