असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले पुस १३ बाट उत्पादन सुरु गर्ने

असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले पुस १३ बाट उत्पादन सुरु गर्ने

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले पुस १३ बाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। उद्योग असोजदेखि बन्द थियो। उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ बाट सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो।’

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ देखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए।

भदौको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो।

पुष ५, २०८१ शुक्रबार १६:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।