भारत र पाकिस्तानको खेल चार वर्षसम्म तटस्थ स्थानमा खेलाउने सहमति

काठमाडौं : आगामी चार वर्षका लागि भारत र पाकिस्तानको क्रिकेट खेल तटस्थ स्थानमा हुने सहमति भएको छ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड बैठकले यसबारेमा सहमति गरेको आईसीसीले एक विज्ञप्तिमार्फत जनाएको छ।
अब सन् २०२४ देखि २०२७ सम्मको क्रिकेट साइकल र सन् २०२८ मा पाकिस्तानले आयोजना गर्ने भनिएको आईसीसी टी२० महिला विश्वकपमा पनि भारत र पाकिस्तानको खेल तस्टस्थ स्थानमा हुनेछ।
जसअनुसार आगामी वर्ष फेब्रुअरी र मार्चमा पाकिस्तानमा हुने आईसीसी टेस्ट च्याम्पियनसिप ट्रफी, सन् २०२५ मै भारतमा आयोजना हुने आईसीसी महिला क्रिकेट विश्वकप र सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी पुरुष टी२० विश्वकप हुने भारत र पाकिस्तानको खेल तटस्थ स्थानमा हुनेछ।
यसअघि सन् २०२३ मा भएको आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको टोली भारत आए पनि आगामी वर्ष आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारतीय टोली पाकिस्तान नजाने भएपछि आगामी चार वर्षका लागि यस्तो सहमति गरिएको हो।
त्यसैगरी बैठकले सन् २०२९ देखि २०३१ सम्म हुने सिनियर महिला क्रिकेट प्रतियोगितामध्ये एक क्रिकेट अष्ट्रेलियाले आयोजना गर्ने निर्णय गरेको छ।
आगामी वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको तालिका छिट्टै सार्वजनिक गर्ने पनि आईसीसीको तयारी छ। प्रतियोगितामा आयोजक पाकिस्तानसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिका सहभागी हुँदैछन्।
पुष ५, २०८१ शुक्रबार ०८:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।