ट्यालेन्ट हन्टबाट एनपिएलमा जोडिएका विपिनको जादु

ट्यालेन्ट हन्टबाट एनपिएलमा जोडिएका विपिनको जादु

काठमाडौँ : ट्यालेन्ट हन्टमार्फत् कर्णाली याक्समा अनुबन्धित हुँदै नेपाल प्रिमियर लिग खेल्ने मौका पाएका विपिन प्रसाद शर्माले पहिलो मौकालाई नै आफ्नो प्रतिभा देखाउने स्थल बनाए। कर्णाली याक्स तेस्रो बन्दै बिहीबार लिगबाट बाहिरिँदा उनको भागमा १३ विकेट परिसकेको थियो।

एनपिएलमा सहभागी आठै टिमले स्थानीय प्रतिभाको छनौट गर्नुपर्ने नियम अनुसार उनी कर्णाली याक्समा अनुबन्धित भएका थिए। ट्यालेन्ट हन्टमा छानिएका अन्य टिमका अधिकांश खेलाडी मैदानमा आउनै नपाउँदा उनी भने हिरो बने लिगकै। प्रारम्भिक खेलहरूमा धर्मराएको कर्णाली याक्सलाई लयमा फर्काएर तेस्रो बन्न उनको योगदान महत्त्वपूर्ण रह्यो।

देब्रेहाते लेगस्पनर रहेका विपिनको प्रस्तुति अनुभवी क्रिकेट खेलाडीभन्दा कम देखिएन। बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग पराजित भएर तेस्रो भयो।

प्रारम्भमा ब्याटिङ गरेको कर्णालीले दिएको लक्ष्य सामान्य थियो। तर विपिनसहितको खेलाडीको कसिलो बलिङले जनपुरले सहजै जित निकाल्न भने सकेन। निकै सङ्घर्ष गर्नुपर्यो टिमका खेलाडीले। विपिनले बिहीबार तीन विकेट लिएका थिए।

विपिनले यस अगाडि चितवन राइनोज् विरुद्धको खेलमा समेत तीन विकेट लिएका थिए। लुम्बिनी लायन्स अनि विराटनगरविरुद्ध कर्णाली याक्स मैदानमा उत्रिदा समेत उनी खाली हात भएनन्।

उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा एक विकेट लिएका थिए भने विराटनगरविरुद्धको खेलमा दुई विकेट लिएका थिए। पोखरा एभेन्जर्सविरुद्धको खेलमा समेत उनी खाली हात हुनु परेन। एक विकेट लिन सफल भए।

जिमी निशम, मोहम्मद मोसिन, सोहेल तन्विर, लोफ्टी इटन, मार्टिन गप्टिल, आन्देश गौस जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरू उनको बलमा टिक्न सकेनन्।

उनले कर्णालीको पहिलो खेल भने खेल्न पाएनन्। उनी बेन्चमै रहे। त्यसपछि पाएको मौका छाडेनन् उनले आफ्नो कला देखाउन। कक्षा ८ मा पढ्दै गरेका १६ वर्षका विपिन कर्णाली क्रिकेट एकेडेमीको उत्पादन हुन्। उनले एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिँदै आएका छन्।

जनकपुरविरुद्ध तीन विकेट लिँदै जम्मा १७ रन दिँदै बेस्ट बलिङ फिगर बनाएका एनपिएलमा उनले सबैभन्दा उत्कृष्ट खेल खेले।

यस अगाडि यु१९ मा कर्णाली टिमबाट खेलेका उनले बागमतीविरुद्धको खेलमा चार विकेट लिएर जम्मा १० रन दिएका थिए भने मधेसको यु१९ टिम विरुद्धको खेलमा उनले चार विकेट लिएर २८ रन दिएका थिए।

पुष ४, २०८१ बिहीबार २०:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।