एनसेललाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान

एनसेललाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान

काठमाडौं : एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरेका थिए।

सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ। 

'एक ठूलो करदाताका रुपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गर्छौं, यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, प्रत्यक्षरूपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ। 

एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३०० अर्ब भन्दा बढी तिरेको छ। गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब कर तथा शुल्क सरकारलाई दाखिला गरेको छ। यसैगरी कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ।   

पुष ३, २०८१ बुधबार १८:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।