सुमेरु सहकारीको ३ अर्ब ९३ करोड रकम अपचलन गरेर बेलायत फरार, कुमारी र प्रभु बैङ्कको एक अर्ब २५ करोड जोखिममा

काठमाडौँ : सहकारीमा रहेको बचतकर्ताहरूको रकम व्यक्तिगत कम्पनीहरूमा लगानी गरी दुरुपयोग गरेको दाबीसहित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका भरत महर्जनविरुद्ध अभियोग पत्र दर्ता भएको छ। उनी सहकारी स्थापना २०५७ साउन ४ देखि २०७५ पुषसम्म संस्थापक एवं कार्यकारी अध्यक्ष थिए।
उनले सहकारीको ३ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको दाबी गर्दै सात वर्ष कैद र अपचलन गरेको रकम असुलीको माग सहित मुद्दा दर्ता भएको हो। सुमेरु सहकारीको रकम अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।
जिल्ला अदालत ललितपुरमा मङ्गलवार दर्ता भएको अभियोग पत्रमा उनले सहकारीको रकम सुमेरु सिटी अस्पताल, सुमेरु सामुदायिक अस्पताल, एसियन कलेज, सुमेरु मार्ट, सुमेरु किड्नी अस्पताल लगायतका व्यक्तिगत कम्पनीमा लगानी गरेर बचतकर्ताको रकम दुरुपयोग गरेको उल्लेख छ।
उनले सहकारीको रकम दुरुपयोग गरेको शङ्का बढेसँगै भागेर परिवारै बेलायत पुगेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले महर्जनलाई मात्रै प्रतिवादी बनाएको छ।
अभियोग पत्रमा सहकारीको रकम अपचलन गरी उनले आफ्नो एकलनाममा स्थापना गरेको कम्पनी एवं संस्थाहरूमा लगानी गरेर बेलायत भाग्नु केही महिना अघिसम्म सोको आम्दानी निजीरुपमा एकलौटी लिएको उल्लेख छ।
‘आफ्नो निजी आम्दानीको श्रोत बनाउन सहकारीको नगद दोहन गरी बर्षौ देखि एकल नाममा कम्पनी खडा गरी कम्पनीको कारोबार र आम्दानी उपभोग गरिरहेकोमा केही महिना अगाडी मात्र बेलायत पलायन हुने मनस्थितिमा पुगेपछि वर्तमान सञ्चालक समितिहरूलाई मसँग धेरै सम्पत्ति भयो, शेयर को कसलाई दिने हो त्यो मेरो अधिकार भित्र पर्दछ, यसलाई प्रोत्साहन स्वरूप बुझ्नुहोस्’ भनेर सेयर दिएको उल्लेख छ।
सेयर दिएपछि उनले ‘तपाईँहरू पनि शेयर सदस्य हो, अबदेखि स्थापनाकाल देखिको जे जस्तो नाफा घाटा कम्पनीमा भएको छ त्यो समेत तपाईँहरूले तिर्नु व्यहोर्नु पर्छ’ भनेका थिए।
अभियोग पत्र अनुसार भरत महर्जन कार्यकारी अध्यक्ष भएको समयमा सुमेरु सामुदायिक अस्पताल, धापाखेल, सुमेरु सिटी अस्पताल, पुल्चोक र एसियन कलेज फर एडभान्स्ड स्टडिज सातदोबाटोको नाममा कुमारी बैङ्क र प्रभु बैङ्कबाट गरी करिब १ अर्ब २५ करोड कर्जा लिएका थिए। हाल उनले बैङ्कहरूलाई सो कर्जाको दायित्व आफ्नो नभएको बताउने गरेको अभियोग पत्रमा उल्लेख छ।
महर्जनले २० वर्षदेखि संस्थापक तथा कार्यकारी अध्यक्ष भएर सहकारीको रकम दोहन गरी छोराछोरी, श्रीमती समेतका नाममा सम्पत्ति खरिद गर्ने, महँगो मूल्यमा बिक्री गरी निजीरुपमा नाफा खाएर बेलायत गएर लुकेको अभियोग पत्रमा उल्लेख छ।
उनले विभिन्न कम्पनी र सङ्घसंस्थाहरूमा तथा आफन्त र कर्मचारीहरूको नामबाट एकलौटी र मनोमानीरुपमा बिना निर्णय ऋण बनाएर र सोझै रकमान्तर गरेर विभिन्न मितिमा कम्पनी र व्यक्तिका नाममा पटक-पटक बिना आधार, बिना भौचर, भर्पाई र तथ्य प्रमाण समेत नराखी सफ्टवेयरमा मात्र हिसाब प्रविष्ट गरेर जालसाजी गरेको सरकारी वकिलको दाबी छ। अभियोग पत्रमा उनी विरुद्ध सात वर्ष कैदको माग गरिएको छ।
जग्गा र सेयर बेचेर परिवारसहित बेलायत फरार
सुमेरु सहकारीमा समस्या आउनु अगाडि नै भरत महर्जनले बेलायत भाग्ने रणनीति बनाएको अभियोग पत्रमा संलग्न विवरणहरूमा देखिन्छ।
उनी बेलायत भाग्नु अगाडि उनले सहकारीबाट अवैध रूपमा रकम लगेको आफ्नो निजी कम्पनीको सेयर सहकारी सञ्चालक समितिमा रहेकाहरूको नाममा नामसारी गरिदिएका थिए।
यत्ति मात्रै हैन, उनले सहकारीको रकमबाट किनेको घर-जग्गाहरू समेत प्रालीहरुको नाममा विक्री गरेका थिए। सेयर हस्तान्त्रण र जग्गा बेचेपछि उनी बेलायत भागे। उनी बेलायत गएपछि श्रीमती र सन्तानहरू समेत बेलायतमै पुगे। अहिले उनी बेलायतको नागरिक भएर बसेको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा उल्लेख भए अनुसार उनले २०७९ कात्तिक १० मा राजमाया महर्जनको नाममा रहेको ललितपुर धापाखेलको जग्गा सुमेरु सामुदायिक अस्पताल तीन करोडमा बेचेका थिए। असार ३० मा आफ्नो नाममा रहेको ललितपुर उपमहानगरपालिकामा रहेको जग्गा शंकरापुर एकेडेमी प्रालिलाई ११ करोडमा विक्री गरे।
उनले २०७७ पुस २९ मा राजमाया महर्जनको नाममा रहेको ललितपुर धापाखेलको जग्गा सुमेरु सामुदायिक अस्पताललाई १८ करोडमा विक्री गरेका थिए। उनले सुमेरु सामुदायिक अस्पताललाई ऋण दिएको देखाएर दुई अर्ब ३० करोड अपचलन गरेका थिए।
सुमेरु सिटी अस्पतालको नाममा उनले सहकारीबाट ९० करोड, एसियन कलेजको नाममा ५७ करोड, सुमेरु मार्टको नाममा २४ करोड रकम सहकारीबाट लगेको देखिन्छ।
पुष २, २०८१ मंगलबार २१:३८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।