मिथिला, शिव र पुष्पनलाई प्रश्न : कहिलेकाहीं राम्रो मान्छे पनि आउट गरियो भन्ने कुराले पछुतो लाग्छ?

काठमाडौं : रियालिटी शोका निर्णायकहरूले भन्ने गरेको सुनिन्छ, कसैको क्षमतामाथि जर्ज गर्नु निकै कठिन कुरा हो। तरपनि उनीहरूले जज गरिहेकै हुन्छन्। नेपालमा गायनदेखि डान्ससम्मका थुप्रै रियालिटी शोहरू टेलिभिजनमार्फत प्रसारण भइसकेका छन्। त्यसमध्ये कतिपय शोका निर्णायकहरू सम्बन्धित क्षेत्रको नहुँदा गसिपको सिकारसमेत बन्ने गरेका छन्।
पोयट आइडलमा केकी अधिकारी, हिमालय रोडिज्मा प्रियंका कार्की निर्णायक बन्दा निकै ठुलो आलोचना भएको थियो। किनकी उनीहरू आफ्नो विधाभन्दा फरक विधाका थिए। यसै सिलसिलामा ‘मेरो भ्वाइस युनिभर्स’का निर्णायक शिव परियार र पुष्पन प्रधान अनि ‘मेरो डान्स युनिभर्स’की निर्णायक मिथिला शर्मालाई हाम्रो प्रश्न छ, ‘अरूको क्षमतामाथि जज गर्न कतिको गाह्रो हुन्छ त?’
नेपाल टेलिभिजनबाट प्रसारण हुने यस शोका निर्णायक मण्डल र प्रस्तोताको घोषणा कार्यक्रममा यो प्रश्न राखिएको हो। जवाफमा मिथिला शर्माले यो सबैभन्दा गाह्रो विषय भएको बताइन्।
उनले भनिन्, ‘एकदमै गाह्रो हुन्छ। एक त हामी कलाकारहरूको दिमाग भन्दा बढि भावना चल्छ चल्छ। हामीहरू भावनामा बग्छौँ। अनि भावना सँगसँगै उद्देश्यतर्फ जानुपर्ने हुन्छ र छान्नु पनि पर्ने हुन्छ। यि हातका औंलालाई पनि बराबर गर्न सक्दैनौँ। हामीले उहाँहरूको प्रतिभा र उद्देश्य छान्नलाई हामीहरूलाई गाह्रो छ।’
सुन्नासाथ उनलाई थप प्रश्न गरियो, ‘कहिलेकाहीं आफूले जज गर्दा राम्रो मान्छे पनि आउट गरियो भन्ने कुरा गिल्टी फिल हुन्छ कि हुँदैन?’
जवाफमा उनले भनिन्, ‘एकजना भएको भए हुन्थ्यो होला। हामी छ/छ जना छौं। त्यो पनि चार जेनेरेसनका। मैले, अर्कोले र अर्कोले पनि हेरिसकेपछि लाष्टमा आउने कुरालाई सर्वमान्य गर्छौं। त्यहाँ मेरो हुँदैन, हाम्रो हुन्छ। त्यसैले गिल्टी फिल हुँदैन।’
मिथिला शर्माको कुरा सुनेका पुष्पन प्रधानले आफूलाई त्यस्तो कुनै नभएको र अब पनि नहुने बताए। आफूले नजानेको या कुनै कुरामा कफ्युजन लागेमा ६ जनाको टिमले निष्कर्ष निकाल्ने र त्यही निचोडलाई सर्वमान्य हुने उनको भनाई छ।
उनले भने, ‘हामी जजको कुर्सीमा बसिरहेका हुन्छौं। अनि हामी पनि सबै कुरा जानेका मान्छे हुदैनौं। मैले हेर्ने तरिका र शिव दाइले हेर्ने तरिका फरक-फरक हुन्छ। दीप, अञ्जु लगायत ६ जनाको टिम छ। हामीलाई नै कन्फ्युज छ भने सबैजना मिलेर छलफल गरेर डिसिजन लिन्छौं।’
मेरो भ्वाइस युनिभर्सका जज शिव परियार पनि आउट भएका प्रतियोगीबाट आफूलाई गिल्टी फिल नहुने बताउँछन्।
उनले ६ जनाको जजको आँखाबाट हेरेपछि आउट भएपछि आफूलाई नराम्रो नलाग्ने बताउँछन्। रियालिटी शोको जज बन्दा गाउने मात्रै नजानेर सबै गुण हेर्नुपर्ने बताउँछन्।
उनले भने, ‘हामीले छानेको मान्छे तत्कालै मिडियामा आएर सर्वव्यापी हुन नसके पनि त्यो एउटा संगीतको जगमा उभिएर संगीत प्रस्तुत गर्दा चाहिँ सबै आयामबाट यो संगीतको लागि बनेको मान्छे हो भन्ने प्रुफ हुनुपर्छ भन्ने पहिलो कुरा हो।’
उनले एक्लैले कसको स्वर राम्रो छ भनेर छान्नुभन्दा पनि संगीतमा उसको केके कुरा छ भनेर समेत हेर्नुपर्ने बताए।
उनले थप्, ‘एउटै कुरालाई ६ जना जजले हेर्दाखेरि स्वरको मात्र आँखा हेर्दैन होला। सबैले स्वरको नाक मात्रै हेर्दैन होला, सबैले स्वरको ओठ मात्रै हेर्दैन होला। सबैले त्यो ६ वटा प्रस्पेटिभबाट हेरिन्छ होला।’
शनिबार काठमाडौं पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले नयाँ सिजनको घोषणा गरिएको थियो। ‘मेरो भ्वाइस यूनिभर्स’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक शिव परियार र पुष्पन प्रधानले निर्णायकको भूमिकामा रहने बताइएको छ।
जसमा दीप, सुरेश, शिव, अञ्जु र पुष्पन अघिल्ला सिजनमासमेत जजका रुपमा रहेका थिए भने यस पटक तृष्णा गुरुङ थपिइन्। तर यस कार्यक्रममा अञ्जु पन्त र तृष्णा उपस्थिति भएनन्।
सोही आयोजकले गर्ने अर्को ‘मेरो डान्स यूनिभर्स’मा निर्णायकको रुपमा कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, किरण थापा, कविराज गहतराज र नायिका शिल्पा मास्के रहने बताइएको छ। यसमा कविराज, किरण र शिल्पा नयाँ हुन्। अघिल्लो एपिसोडमा रहेकी केकी, प्रियंका यस पटक दोहरिएनन्।
यसमा उद्घोषमा नरेश भट्टराई, रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठले जिम्मेवारी पाए। ‘मेरो भ्वाइस यूनिभर्स’लाई सुरेश पौडेल र ‘मेरो डान्स यूनिभर्स’लाई मौसमी गुरुङले निर्देशन गर्नेछन्।
नेपालकै ठुलो पुरस्कार राशी रहेको यो रियालिटी शोलाई इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको हो। यसको पहिलो सिजनको आयोजना भइसकेको छ।
यस फाउन्डेसनका अध्यक्ष डिल्लिराम अधिकारी हुन्। उनले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायम राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्य रहेको बताए।
पुष १, २०८१ सोमबार १७:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।