दशैंबाट हलमा ह्वात्तै घटे नेपाली फिल्म, पुसमा ‘कार्साङ’ र ‘बम बहादुर’ प्रदर्शन हुँदै

दशैंबाट हलमा ह्वात्तै घटे नेपाली फिल्म, पुसमा ‘कार्साङ’ र ‘बम बहादुर’ प्रदर्शन हुँदै

काठमाडौं : गत दशैंदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भीडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ। विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्छन्। 

यसपटक पुस ५ मा ‘बम बहादुर’ र २६ मा ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ। २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ। यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन्। 

आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए। उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ। 

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतको अभिनय छ। 

यस्तै, माघे सङ्क्रान्तिलाई लक्षित गर्दै पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए। 

उनले भने, 'चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेका छौं। यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ।'

निर्देशक शेर्पा दर्शकलाई चलचित्र मन पर्नेमा विश्वस्त छन्। चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारको अभिनय छ। 

पुस जाडोको समय भएकाले विगतदेखि नेपाली चलचित्र प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको चलचित्र वितरणमा सक्रिय करण श्रेष्ठले बताए। 

'पुसमा ठूला विदेशी चलचित्र प्रदर्शन हुने गरेका छन्। नेपालमा जाडोको समयमा चलचित्र भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले चलचित्र प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन। विदेशी चलचित्रले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन्, उनले भने।  

मंसिर ३०, २०८१ आइतबार १४:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।