एनपीएल हेर्न कीर्तिपुर पुगे ब्रायन लारा

एनपीएल हेर्न कीर्तिपुर पुगे ब्रायन लारा

काठमाडाैं : काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल हेर्न वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।

शुक्रबार बिहान काठमाडौं ओर्लिएका उनी शनिबार भएको काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीचको खेल भइरहेको समयमा त्रिवि क्रिकेट मैदानमा पुगेका हुन्।

उनलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायत पदाधिकारीले स्वागत  गरेका थिए।

क्यानको निमन्त्रणामा लारा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न नेपाल आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपीएलका केही खेलमा कमेन्ट्री गर्ने र खेलाडीहरूसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन्।

एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।  

उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन्। लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका थिए। एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका थिए।

मंसिर २९, २०८१ शनिबार १२:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।