रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौं रकम असुल्ने तीन जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भई काठमाडौं टोखा नगरपालिका ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका १२ घर भई काठमाडौं महानगरपालिका २८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौं महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिराहा, सिरहा नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन्।
पक्राउ मध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले मधुलाई काठमाडौं टोखा नगरपालिका ६ बाट र गीतालाई काठमाडौं महानगरपालिका २८ बाट मंगलबार तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।
मंसिर २६, २०८१ बुधबार १६:२२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।