छ महिनाको ब्रेकपछि ‘कार्साङ’मा धामी बनेका दयाहाङ, सन्तान नहुँदाको तनावमा जितु दम्पती

छ महिनाको ब्रेकपछि ‘कार्साङ’मा धामी बनेका दयाहाङ, सन्तान नहुँदाको तनावमा जितु दम्पती

काठमाडौं : हरेक फिल्ममा एउटै अभिनयको आरोप खेपेका दयाहाङ राईको हलमा फिल्म नचलेको लामै समय भयो। एकै खाले अभिनयले दर्शकलाई मोनोटोनस भएको समाचार बन्न थालेपछि उनले ६ महिना जति ब्रेक लिए। बरू आफ्नै नाटकघर मण्डला थिएटरमा नाटकतर्फ काम गर्न थाले। एक दर्जनभन्दा बढि अनुबन्ध भएका फिल्मलाई थाँती राख्दै आफूलाई रिजर्भमा राखे। 

फरक-फरक भूमिका उनले निर्वाह नगरेका हैनन्। तर, उनकै मात्र फिल्म हलमा लागेपछि दर्शकलाई मनोटनस बनायो। त्यसैले होला दर्शकले फरकपन उनमा खोजिरहे। उनले फिल्म ‘जारी’मा ताप्लेजुङ जिल्ला आसपासका लिम्बू समुदायको पात्रमा अभिनय गरे। जुन सफल फिल्म बन्यो। 

अर्को फिल्म ‘गाउँ आएको बाटो’मा राई, ‘घरज्वाई’मा मगर बनेका दयाहाङ ‘नाङ्गो गाउँ’मा तामाङ, ‘कब्बडी’मा थकाली,‘ दयारानी’मा गुरुङ पात्रको भूमिका निभाए।

उनले हरेक समुदायको कथामा आफूलाई ढालेका थिए। अब भने उनी शेर्पा समुदायको एक पात्रको भूमिकामा आफूलाई उभ्याएका छन्। पौष २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा उनी सिन्धुपाल्चोकको एक शेर्पाको भुमिकामा अभिनय गरेका छन्। 

मौलिक कथामा निर्माण भएको यो फिल्म ‘कार्साङ’मा उनले धामीको भूमिका निर्वाह गरेका छन्। हालै सार्वजनिक भएको टिजरमा उनी धामीको र आर्थिक रुपमा अभावमा दबिनु परेको पात्रमा छन्। 

यश शेर्पाको कथा तथा निर्देशनमा बनेको यो फिल्ममा शेर्पा समुदायको कथालाई प्रस्तुत गरिएको छ। ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चरलाई फिल्मको पर्दामा उतार्न लागिएको निर्देशक शेर्पाको भनाई छ। 

गाउँमा कोही बिरामी हुँदा होस् या केही नराम्रो हुँदा घरमा धामी राखेर चिन्ता बस्ने परम्परा छ। दयाहाङ त्यही परम्पराको एक पात्र बनेका छन्। गाउँमा चिन्ता बस्दा उनलाई रक्सी दिइन्छ। तर, उनलाई रक्सी भन्दा पनि पैसाको आवश्यकता छ। निकै पैसाको अभाव खेपेका धामी (दया) सन्तान नहुँदाको तनावमा छटपटिएका जितु नेपालको दम्पतीको कथालाई निर्देशकले प्रस्तुत गरेका छन्। 

जितुको श्रीमतीका रुपमा दीया मास्के छिन्। उनीहरुले गाउँमा बोलिने अश्लील शब्दलाई फरक तरिकाले बोलेका छन्। हास्य कलाकारका रुपमा परिचित बनेका जितुले यस फिल्ममा फरक भूमिकामा आफूलाई ढाल्न कसेको टिजरमा देख्न सकिन्छ। 

फिल्ममा जितु, दिया र दयाहाङका अलावा सिर्जना निङलेखु, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायतले अभिनय गरेका छन्। फिल्ममा राशी लिम्बु, सोहन थापा बाल कलाकारले समेत अभिनय गरेका छन्।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधान छायांकार हुन्। उनी निर्माता पनि हुन्। फिल्मको सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्। लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

यस फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

मंसिर २५, २०८१ मंगलबार २०:५३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।