
‘कमेडी दरबार’मा फरक-फरक क्यारिकेचर गरेर हँसाउन खोज्ने सुन्दर, तर दर्शकले खोज्छन् म्याकुरी

काठमाडौं : प्राइम टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी शो ‘कमेडी दरबार’पछिल्लो समय चर्चामा छ। यसका पर्फर्मरहरू पनि कोही चर्चामै छन् भने कोही कोसिसरत छन्। त्यसमध्येका एक पर्फर्मर सुन्दर खनाल छन्, जो अनेक गरेपनि दर्शकको नोटिसमा पर्न सकेका छैनन्।
उनी दर्शकका लागि कुन क्यारेक्टरले जमिन्छ भन्दै भएका भरका क्यारेक्टर निकाल्छन्। कहिले युट्युबर उत्सव रसाइलीको क्यारेक्टर गरेर दर्शक हँसाउन खोज्छन् भने कहिले ‘नौटी बाबा’। ‘स्वामी हरिदास, मदनकृष्ण श्रेष्ठ, भस्मे डन’सम्मको क्यारेक्टर बनेर दर्शकलाई हँसाउने कोसिस गरिरहेकै छन्। तर, उनले जतिसुकै प्रयास गरेपनि के गर्नु, शोमा दर्शकले म्याकुरी (पवन खतिवडा) नै खोज्छन्।
युट्युबमा कमेन्ट हेर्ने हो भने अधिकांश म्याकुरीको प्रशंसामा देखिन्छ। उनको मात्र होइन, मिस पवि (पवित्रा शांकी), नम्रता सापकोटा, उत्सव सापकोटाको गन्ती नै छैन। झन् उत्सवको हुनु त परकै कुरा भैगो!
१५ औं एपिसोडमा सुन्दरले नौटी बाबाको क्यारेक्टर गरेका छन्। पाहुनाको रुपमा उपस्थित भएका महेश काफ्ले र अस्मिता अधिकारीलाई मज्जैले हँसाउँछन्। रास्वपा सभापति रवि लामिछानेलाई पनि गज्जबै व्यङ्ग्य गर्छन्। तर, युट्युबको कमेन्ट बक्समा अधिकांश दर्शकले म्याकुरीलाई खोजिरहेका छन्।
कमेन्टकर्ता रामबहादुर चौधरीले 'आजको म्याकुरीको कमेडी बबाल लाग्यो है, म साउदीबाट इन्जोय गर्दैछु' भनेर लेखेका छन्। उनको यो कमेन्टमा ३३ जनाले लाइक गरेका छन्।
उता, संगम एनसीले लेखेको 'सुन्दर खनाललाई मन पराउने जति यता जाजिर गरौं' भन्ने कमेन्टमा जम्मा ८ लाइक छ। संगम मात्र होइन, प्रितम रेग्मीले 'सुन्दर खनालको फ्यान को को हुनुहुन्छ हाजिर गर्नु त' भनेको कमेन्टमा एकजनाले मात्रै लाइक गरेका छन्। अधिकांश कमेन्टकर्ताले म्याकुरी रोजेका छन्।
टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ गत असार १४ बाट प्राइम टाइम टेलिभिजनमा हरेक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण हुँदै आएको छ। शोलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले निर्देशन गर्दैछन्।
मंसिर २५, २०८१ मंगलबार १६:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।